प्रादेशिक पर्यटन विकासमा नेतृत्व लिने महासंघको प्रस्ताव 

काठमाडौं, ३० चैत ।  नेपाल उद्योग वाणिज्य महासंघले भिजिट नेपाल २०२० सफल बनाउन आफ्नो सम्पूर्ण संजाल परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न ५३ औं साधारणसभाबाट भिजिट नेपाल सफल बनाउन सक्रिय हुने निर्णय गरेको हो ।

प्रादेशिक पर्यटन विकासमा पनि महासंघले नेतृत्व लिएर बहस चलाउने निर्णय गरेको छ । महासंघले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन सिंगो निजी क्षेत्रलाई परिचालन गर्ने निर्णय समेत गरेको छ ।

पछिल्लो समय उद्योग व्यवसायसहित अर्थतन्त्रमा देखिएका समस्याको सम्बन्धमा विस्तृत प्रतिवेदन बनाएर सरकारसमक्ष पेश गर्ने तयारीसमेत महासंघले गरेको छ । पूर्वाधारको समस्या, नीतिगत अफ्ठ्यारा, चूनौति तथा समस्या यस प्रतिवेदनमा समेटिने महासंघले उल्लेख गरेको छ । प्रतिवेदन निर्माण गर्दा विज्ञहरुलाई समेत सहभागी गराउने महासंघको भनाई छ ।

महासंघले सामाजिक सुरक्षा ऐन लागु गर्ने सन्दर्भमा पूँजिका आधारमा उद्योग प्रतिष्ठानलाई वर्गिकरण गरी लागु गर्नुपर्ने माग समेत गरेको छ । मेला महोत्सव आयोजनालाई व्यवस्थित गर्न सरकारसँग समन्वय गरी आधिकारिक संस्थाबाट यस्ता कार्यक्रम संचालन गर्नुपर्ने निर्णय समेत महासंघले गरेको छ ।

सामाजिक सुरक्षा योजना तथा श्रम ऐनमा पुर्नविचार गर्न सरकारसँग पहल गर्ने निर्णय समेत गरेको महासंघले जानकारी दिएको छ । महासंघभित्र विज्ञ समूह बनाउने तथा साना तथा मझौला उद्यमी व्यवसायीको सशक्तिकरणका लागि सातै प्रदेशमा साना तथा मझौला सम्मेलन आयोजना सम्मेलन गर्ने निर्णय महासंघले गरेको छ ।

महासंघका पूर्व उपाध्यक्ष दिवाकर गोल्छाको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । महासंघको वार्षिक साधारण सभामा सदस्य संघ संस्थाबाट प्राप्त प्रस्तावलाई अन्तिम रूप दिन उपाध्यक्ष किशोरकुमार प्रधानको संयोजकत्वमा भीम घिमिरे, कृष्ण श्रेष्ठ, राधाकृष्ण सापकोटा र के आर खनाल सम्मिलित ५ सदस्यीय प्रस्ताव समिति गठन गर्ने निर्णय समेत महासंघले गरेको छ ।

के हुन्छ विधान ? 

महासंघले विधान संशोधनको मस्यौदा यथाशीघ्र तयार पारी सबै सदस्य संघसंस्थासँग छलफल अगाडी बढाउने निर्णय गरेको छ । विधानको विषयलाई लिएर भने महासंघमा अहिले विवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here