व्यापारीले बढाए आफूखुसी मूल्य, चामल बोरामा सय रुपैयाँसम्म वृद्धि

काठमाडौं, १२ चैत । विश्वव्यापी कोरोनाभाइरस (कोभिड १९) को संक्रमण बढेसँगै सरकारले लकडाउन गरेपछि सर्वसाधरणहरुले खाद्य सामग्रीको स्टक राख्न थालेका छन् ।

लकडाउनको समयमा पनि बिहान बेलुका-भित्री सडकका पसलहरुमा चाप बढिरहेको छ । अत्यावश्यक बाहेका कार्यालय तथा बजारका अधिकांश पसलहरु बन्द गरिएको छ ।

मानिसहरु घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेका छन् । जसले गर्दा बजारमा खाद्य सामग्रीको माग पनि बढेको छ । उपभोक्ताले खाद्य सामग्री स्टक राख्न थालेपछि यसको माग ह्वात्तै बढेको व्यापारीहरु बताउँछन् ।

सरकारले सर्वसाधरणलाई नआत्तिन र खाद्य सामग्री मौज्दात रहेको बताए पनि उपभोक्ताले खाद्य सामग्री अभाव हुने संभावना रहेको भन्दै स्टक राख्न थालेको छन् । यहि मौकामा व्यापारीहरुले पनि आफुखुशी मूल्यवृद्धि गरेका छन् ।

सबैजसो ल्याउन पसलमा प्रत्येक सामानको मूल्य ५ देखि १० रुपैयाँसम्म बढेको छ । चिनीमा प्रतिकेजी ५ रुपैयाँ बढेको छ । चिनीको मूल्य ८० रुपैयाँदेखि ८५ रुपैयाँ पुगेको हो ।

नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । विगतमा बोराको १ हजार ५ सय ५० देखि १ हजार ६ सय ५० रुपैयाँ पर्ने जिरा–मसिनो चामलको मूल्य हाल १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । मासको दाल अधिकतम १ सय ५० रुपैयाँ प्रतिकेजी रहने गरेकोमा हाल प्रतिकेजी १ सय ७० रुपैयाँ पुगेको हो ।

नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको छ । मुसुरोको दालको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ पुगेको छ ।

खानेतेलतर्फ भटमास, सनफ्लावर र तोरीको तेलको मूल्यपनि प्रतिलिटर खुद्रा पसलेले ५ रुपैयाँ बढाएर बिक्री गर्दै आएका छन्। दुध, पानीको भाउ भने बढेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here