१५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई २० प्रतिशत छुट

काठमाडौं, १४ चैत । सरकारले खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत महिनाका लागि एक सय ५० युनिटसम्म खपत गर्ने घरेलु ग्राहकलाई २० प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

कोरोना भाइरसले व्यापार,व्यवसायलाई अस्तव्यस्त बनाइरहेका बेला प्राधिकरणले घरेलु ग्राहकका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो । नेपालमा करिब ३८ लाख घरेलु ग्राहक छन्।

अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट प्रयोग गर्ने प्राधिकरणले जनाएको छ। अब भने १५० युनिटसम्म खपत गर्दा २० प्रतिशत छुट हुनेछ। उर्जा मन्त्रालयले विद्युतको प्रयोग इडक्सन चुल्होमा गर्न आव्हान गरेको हो ।

नेपालमा विद्युतका घरेलु ग्राहकमध्ये अधिकांश मासिक एक सय ५० युनिटभन्दा कम खपत गर्छन्।

यो समग्रमा एक महिनाका लागि करिब ५० करोड रुपैयाँको छुट हुने बताइएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ।

बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर ‘पिक आवर’मा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here