पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

काठमाडौं, १५ चैत । नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ ।

सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।

खाद्य बस्तु ढुवानी गर्ने मालबाहक र खाली सवारी साधानहरु विगत चार दिनदेखि बिभिन्न ठाउँमा अडकिएका छन् भने चालकहरु सवारी साधन छोडेर आआफ्नो घरमा गईसकेका छन् ।

उनीहरुलाई उचित व्यवस्थासहित मनोवल बृद्धी गरी खाद्य वस्तु निर्वाध रुपमा देशका बिभिन्न ठाउमा पठाउनु जरुरी भएको संघले बताएको छ ।

कोरोनाभाईरस (कोभिड १९) को महामारी को रोकथामा र नियन्त्रणका लागि सरकारले चैत ११ देखि १८ गतेसम्म अत्यावश्यक खाद्य वस्तु लगाएतका दैनिक जिवनमा नभइ नहुने वस्तुहरु उत्पादन गर्ने उद्योग संचालन र अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन प्रतिवन्ध लगाएको छ ।

संघका अध्यक्ष सुवोधकुमार गुप्ताले सनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्र, प्रदेश र स्थानीय सरकारसँग उद्योगको सञ्चालनका लागि सहयोगको आग्रह गरेका छन् ।

‘संकटका बेला उद्योग निरन्तर संचालनमा आउन अत्यावश्यक भएकाले यसको सहजीकरणका लागि सरकारसंग यस संघ हार्दिक अनुरोध गर्न चाहन्छ,’ संघले भनेको छ ।
श्रमिक कर्मचारी परिवारलाई सुरक्षित महसुस गराई उनीहरुलाई काममा जाने उच्च मनोबलको वातावरण सिर्जना गर्न संघले सरकारसँग अनुरोध गरेको छ ।

त्यसैगरी, हरेक उद्योग संचालनको लागि दैनिक लगभग रु. १ लाखदेखि रु. ५ लाखसम्म नगद आवश्यक पर्ने हुँदा शहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जना गर्न र स्थानीय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

उद्योगमा कामगर्ने कर्मचारी, श्रमिक मजदुरको स्वास्थलाई ध्यानमा राखि सानिटाइजर, मास्क उपलब्ध गराई सोसल डिस्ट्यान्स कामय गरी सरकारसँग सहकार्य गर्दै यस बिपदको घडिमा उपभोक्ताको हकहितलाई ध्यानमा राखि देशभरका बजारमा सहज आपूर्तिको लागि खाद्य बस्तु उत्पादन गर्न सम्पूर्ण खाद्य उद्योगहरु तयार रहेको पनि संघको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here