नेपाल आइपुग्यो औषधिसहित अत्यावश्यक स्वास्थ्य उपकरण

फाइल फोटो

काठमाडौं, १६ चैत । कोरोना भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ ।

कोरोना भाइरसको उपचारमा प्रयोग हुने १२ प्रकारका अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

उक्त विमानले चीनको ग्वान्जाओबाट ल्याएका सामानमध्ये सबैभन्दा बढी कोभिड-१९ जाँच्‍ने र्‍यापिड डायग्‍नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्‍न प्रकारका पीसीआर रिएजेन्ट १० हजार थान ल्याइएको छ।

सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको हो।

जसमा पोर्टेबल पीसीआर रिएजेन्ट किट्स २० हजार थान, पोर्टेबल पीएसआर मेसिन पाँच थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल एक हजार पाँच सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन- ९५ लगायत ३० हजार थान, विभिन्‍न आकारका ग्लोब एक्जामिनेसन एक लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी चार हजार थान रहेको छ ।

उक्त औषधिजन्य सामाग्री आइतबार नै सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा वितरण गरिने छ। ज्याक माले पठाउने मेडिकल सामग्री मंगलबार काठमाडौं आइपुग्ने छ । अलिबाबा फाउन्डेसनले दिने सामान चिनियाँ जहाजबाट काठमाडौं ल्याउने बताइएको छ।

ज्याक माले नेपाललाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामग्री सहयोग गर्ने भएका छन्।

अलिबाबा फाउन्डेसनले दिएका सामान चिनियाँ जहाजले नै गत बुधबार पाकिस्तान लगेको थियो। उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई स्वास्थ्य सामग्री दिएका छन्।

उनले दिएका एन ९५ मास्कसहितका मेडिकल सामग्री बोकेको चार्टर्ड जहाज बुधबार पाकिस्तान पुगेको छ। एसियाका सबैभन्दा धनी माले ‘एउटै विश्व एउटै लडाईं’ नारासहित सहयोग गरिरहेका छन्। उनले यही शनिवार कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनका छिमेकी एसियाली मुलुकलाई ठूलो मात्रामा सहयोगको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here