कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ ।

आइतबार कोरोनाभारसबाट प्रभावित बैंक तथा वित्तीय संस्थाका लागि राहत प्याकेजको घोषणा गर्दै केन्द्रीय बैंकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रयोग हुने वस्तु तथा उपकरण, औषधी, खाद्यान्न लगायत अत्यावश्यकीय वस्तुको आयात र बिक्रीवितरण सहज बनाउनका लागि कर्जा माग भएमा पाँच दिनमै प्रवाह गर्न निर्देशन दिएको हो ।

तर त्यस्ता वस्तु, उपकरण, औषधी तथा खाद्यान्न स्वास्थ्य सेवा विभागले सूचीकृत एवम् सिफारिस गरेको हुनुपर्नेछ ।

त्यस्तै, कोरोनाभाइरसको उपचारका लागि सुविधा विस्तार गर्न चाहने अस्पताल तथा स्वास्थ्य संस्थालाई दिइने कर्जालाई प्राथमिक क्षेत्र अन्तर्गत गणना गर्न सकिने पनि राष्ट्र बैंकले बताएको छ ।

यसका साथै बैंक तथा वित्तीय संस्थाले संघ र प्रदेशमा स्थापना भएका कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले पुनरकर्जा सुविधामा कोभिड–१९ बाट प्रभावित साना तथा मझौला उद्यमीले प्राथमिकता पाउने पनि बताएको छ । यस्तो पुनरकर्जा सुविधाा चालु पुँजी कर्जाका लागि समेत प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here