बैंक खाता खोल्नुस्, १०० रुपैयाँ पाउनुस्

काठमाडौं, १ बैसाख । सरकारले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुरुवात गरेको छ ।

नयाँ वर्ष २०७६ को पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौ बैंक खाता’ कार्यक्रमको प्रधानमन्त्री ओलीले आइतबार शुभारम्भ गरे । सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन । सरकारले चालु आर्थिक वर्षको बजेटमै यो कार्यक्रमलाई समावेश गरेको थियो ।

कार्यक्रमअनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता एक सय रुपैयाँ खर्च गर्न लागेका हुन ।

संस्थागत खातामा भने यो व्यवस्था लागु हुने छैन । बचत खाताको ब्याजदर बैंक अनुसार फरक फरक हुनेछ ।

नेपाल बैंकर्स संघले पनि नयाँ वर्षभरी हरेक नयाँ बचत खातामा एक सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउँछन् ।

नयाँ खाता खोल्दा ग्राहकले यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा खाता नभएको पुष्टी गर्नु पर्ने छ । यसअघि बैंक खाता खोलिसकेका ग्राहकले यो सुविधा पाउने छैनन् ।

यो कार्यक्रम बैंकिङ पहुँचको बाहिर रहेका ग्राहक लक्ष्यित भएकाले यसअघि खाता खोलिसकेका ग्राहकले सुविधा नपाउने राष्ट्र बैंकले बताएको छ ।

नयाँ खाताबाट वार्षिक एक लाख रुपैयाँ सम्मको मात्र कारोबार गर्न पाइनेछ । त्यसैले नयाँ खातावाललाई पूर्व विवरणमा केही खुकुलो गरिएको छ । तर, कुनै ग्राहकले वार्षिक १ लाख रुपैयाँ भन्दा धेरैको कारोबार गरेमा पुर्ण रुपमा ग्राहक विवरण बुझाउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।

राष्ट्र बैंकले गत वर्ष प्रति २ हजार ५ सय नयाँ खाता खोल्ने बैंक तथा वित्तीय संस्थालाई एक वर्षका लागि निर्ब्याजी १ करोड रुपैयाँ सापटी दिने घोषणा गरेको थियो । तर, गत आर्थिक वर्षको यो कार्यक्रम अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले २५ सय नयाँ खाता खोल्न सकेनन् ।

नयाँ घोषणा गरिएको कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेका छन् । राष्ट्र बैंककाअनुसार गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । तर, एउटै व्यक्तिका धेरै खाता भएकाले सबै त्यति खाता खुले पनि धेरै नेपाली अझै बैंकिङ पहुँच बाहिर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here