खाद्य सामग्री सकियो ? भोकै बस्नु पर्दैन्, यसरी पाइन्छ निःशुल्क

काठमाडौं, १७ चैत । महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ ।

पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको पहलमा काठमाडौँस्थित मानव सेवा आश्रमबाट उक्त अभियान शुरु गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयले लकडाउन अवधिभर कसैलाई खाद्यान्न संकट वा अभाव भए एक सयमा फोन गरेर नाम टिपाउन अनुरोध गरेको छ।

मेट्रोले बिभिन्न बैंकहरुसँगको सहकार्यमा मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका, अशक्त,असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको छ।

सरकारले पनि दैनिक मजदुरी गर्नेलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराउन वडा कार्यालयहरुलाई निर्देशन दिइसकेको छ। गत मंगलबारदेखि सुरु भएको लकडाउन कम्तिमा आगामी चैत २५ गतेसम्म जारी रहने छ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ ।

त्यस्ता सङ्घसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताए ।

लकडाउन भएपश्चात् असहाय, अशक्त व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुन्छ । वास्तविक समस्या भएकाहरुलाई भने सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here