राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो ।

अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

महाप्रसाद अधिकारी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालसँगै सिफारिसमा परेका थिए। तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात छ।

अधिकारीको पहलमा वित्तीय क्षेत्रमा थुप्रै सुधारहरु भएका छन्। अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।

उनीसँग ३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए।

उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उनले काम गरिसकेका छन्।

अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here