भारतले प्रतिबन्ध लगाएको एक महिना भित्रै औषधि फुकुवा गर्नुको कारण के ?

काठमाडौं, २६ चैत । भारत सरकारले विभिन्न औषधि निर्यातमा लगाएको बन्देज खुला गरेको छ ।

विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै सिटामोल बाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गर्ने निर्णय गरेको हो ।

नोवेल कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि भारतले गएको महिना औषधि निर्यातमा प्रतबिन्ध लगाउँदा विश्वभर नै औषधिको आपूर्ति व्यवस्थामा असर परेको थियो।

एक महिना भित्रै भारतले प्रतिबन्ध फुकुवा गर्नुको कारण भने स्पष्ट पारिएको छैन।

तर अमेरिकाले दिएको दबाब थेग्न नसकेपछि प्रतिबन्ध फुकुवा गर्न भारत बाध्य भएको सरकारी स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको थियो। सो वार्ताको क्रममा पनि ट्रम्पले निर्यात फुकुवा गर्न दबाब दिएको बुझिएको छ।

फुकुवा भएको औषधिमा भिटामिन बी–१, भिटामीन बी–६, भिटामिन बी–१२, ओरनिडाजोल, नियोमाइसिन, टिनिडाजोल, मेट्रोनिडाजोल, क्लोरामफेनिकल, इरिथ्रोमाइसिन लगायत २४ वटा रहेका छन् ।

पारासिटामोल र उक्त समूहमा पर्ने दुई प्रकारका औषधिको प्रतिबन्ध भने कायमै राखेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा भारतले औषधि निर्यात गर्न नदिएमा कडा प्रतिक्रियको सामना गर्नु पर्ने चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here