कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई ९१ लाख उपलब्ध गराउने

काठमाडौं, २७ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई रु. १३ लाखको दरले ९१ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेशस्तरीय कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

परिषदमा नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायसंग सम्बन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहन्छ ।

अहिले कोरोनाभाइरसका कारण मुलुक नै संकटमा रहेकाले यसको रोकथामका लागि परिषदको कोषबाट प्रदेशलाई रकम उपलब्ध गराउन लागिएको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले बताए ।

अहिले कोरोनाभाइरसका कारण विश्व नै अप्ठ्यारो परिस्थितिमा छ । सिंगो राज्य नै यो भाइरस विरुद्धको लडाइमा छ । बाँच्नु र बचाउनु पहिलो प्राथमिकता भएकाले औषधी, उपकरण खरिद र उपचारका लागि प्रदेशहरुलाई रकम उपलब्ध गराइएको पनि मन्त्री नेम्बाङले बताए ।

परिषद्को गत चैत ५ गते बसेको बैठकका निर्णय अनुसार कोरोनाभइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार केन्द्रिय कोषमा यस अघि नै १ करोड रुपैयाँ उपलब्ध गराई सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here