दातृ संस्थासँग अर्थमन्त्रीको भिडियो कन्फ्रेन्स, ऋण भुक्तानीको समयावधि सार्न आग्रह

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा. युवराज खतिवडा र वैदेशिक दातृ संस्थाको पदाधिकारीबीच शुक्रबार भिडियो कन्फ्रेन्स भएको छ ।

नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरुबारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको हो । छलफलमा वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समयावधि केही वर्ष सार्न आग्रह गरेका छन् ।

बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी विषयमा कुराकानी भएको थियो ।

नेपाल सरकारले गरेको प्रयास सम्बन्धी जानकारी गराउँदै उनले नेपाल जस्तो सीमित स्रोत साधन भएको भुक्तानीको समावधि सारियो भने देशले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने धारणा राखे अर्थमन्त्रीले राखेका थिए ।

उनले परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुने धारणा राखे ।

नियमित रुपमा उपलव्ध भइरहेको अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्ने बताउँदै उनले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पहिलेको कुनै पनि संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि सर्वथा उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्ने बताए ।

माननीय अर्थमन्त्रीले यो विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए तापनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहनेमा जोड दिए ।

भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ-आफ्नो धारणा राखेका थिए ।

उक्त छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्ट्विग सेफर,अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्रा्ष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल भएको थियो ।

सो छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिवको समेत उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here