लकडाउनमा भित्रियो ३७ हजार ३ सय ३३ टन खाद्यान्न

काठमाडौं, ३० चैत । कोरोना भाइरस महामारीको संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् । लकडाउनको १७ दिनको अवधिमा मुलुकमा ३७ हजार ३ सय ३३ टन खाद्यान्न आयात भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चैत ११ देखि २७ गते सम्म ३७ हजार ३ सय ३३ मेट्रिक टन खाद्यान्न र २१ हजार ६ सय २५ टन तरकारी आयात भएको भएको हो ।

यो अवधिमा १४ हजार ५३ टन गेडागुडी तथा दलहन र ६९ टन दुग्धपदार्थ आएको छ। यसबाहेक तयारी औषधि पनि ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांक छ।

सरकारले लकडाउनका अवधिमा पनि यी अत्यावश्यक वस्तुहरूको आयात सुचारु राख्ने निर्णय गरेको थियो । मुलुकमा उत्पादित खाद्यान्नले आन्तरिक माग धान्न नसक्ने कारण नेपालले हरेक वर्ष अर्बौंको खाद्यान्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ८ महिनामा अर्थात फागुन मसान्तसम्म सम्म २१ अर्ब ८३ करोड रुपैयाँबराबरको धान चामल आयात भएको छ । नेपालमा चीन, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायतका मुलुकबाट धान चामल आयात हुन्छ ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ८ महिनामा ३६ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको खाद्यान्न, १९ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको तरकारी तथा १३ अर्ब ५१ करोड रूपैयाँ मूल्यबराबरको फलफूल आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here