कोरोनाको जोखिम काठमाडौं भित्रने नाकामै, बीना परीक्षण आउँछन् दैनिक एक हजार मानिस

काठमाडौं, २ वैशाख । सरकारले देशभर लकडाउन गरेको छ । यसअवधिमा अत्यावश्यक काम परेको समयमा बाहेक घर बाहिर निस्कन समेत पाइदैन ।

सडकमा यात्रा गर्नु त परै आवस । त्यसकारण शहर बजार सुनसान छ । सडक खाली छन् । तर, काठमाडौंको मूख्य नाका नागढुंगामा भने सामान्यतया चहलपहल भइनै रहेको छ ।

काठमाडौंबाट भित्रने र बाहिरिने सवारी साधन यहाँ रोकिन्छन् । प्रहरीले सामान्य चेकजाँच गर्छ । पास हेर्छ ।

चन्द्रागिरी नगरपालिकाको समन्वयमा एक जना अहेवले चालक तथा भित्रने बाहिरिने मानिसको थर्मल गनले ज्वरो नाप्छन् र भित्रन वा बाहिरिन दिन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगा नाकाबाट अहिले पनि औसतः एक जना हजार मानिस काठमाडौं भित्रन्छन् ।

उनीहरु अत्यावश्यक सामान बोकेका चाल तथा सहचालक, सवारी पास लिएर हिँडेका व्यक्ति, एम्बुलेन्स चालक तथा बिरामी हुन् ।

यस संख्यामा सुरक्षाकर्मी तथा अन्य सरकारी सेवाका मानिस भने गणनामा पर्दैनन् । यस नाकाबाट वीरगन्ज हुँदै आएका पेट्रोलियम पदार्थ बोकेका चालक भित्रन्छन् ।

उनीहरुलाई सामान्य ज्वरो नापजाँच गरी प्रवेश दिइन्छ । अहिले वीरगन्ज सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये एक हो । किनकी यहाँ समुदायमै कोरोना देखिएको आंशका छ ।

यहाँ चिया पसल गरेर बस्ने एक महिलालाई कैलालीमा पुगेपछि कोरोनाको संक्रमण देखिएको छ ।

चितवनबाट कुखुराको अर्डर लिएर आएका एक सवारी चालकका अनुसार नाकामा हुने चेकजाँच र तयारी हेर्दा सवारी चालक तथा पास बोकेका व्यक्तिबाटै दैनिक कोरोना भित्रिरहेको भान हुने बताउँछन् ।

सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि यताको समयमा मात्र काठमाडौं उपत्यकामा करीव ३८ हजार मानिस भित्रिएको महाशाखाको तथ्यांक छ ।

यसअवधिमा करीव १३ हजार सवारी साधनले उपत्यका प्रवेशको अनुमति पाएका छन् । न यी सवारी साधन कतै क्वारेन्टाइनमा राखिन्छ, न चालक र सहचालको उचित परिक्षण नै हुने गरेको छ ।

त्यसकारण अहिले लकडाउनको समयमा पनि नाकाबाटै कोरोना भित्रने हो की भन्ने आंशका उब्जिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here