बैंकिङ कारोबारसम्बन्धी कुनै समस्या छ, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने ?

काठमाडौं, ३ बैशाख । लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।

यो समयमा न्यूनतम बैंकिङ सेवा लिँदा सर्वसाधारणहरुलाई सकस भइरहेको गुनासो बढ्न थालेपछि राष्ट्रबैंकले त्यस्ता गुनासा सुन्ने र सर्वसाधारणको समस्या समाधानका लागि सहजीकरण गर्ने अधिकारीहरु तोक्दै एक सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

बैंकले सामान्य बैंकिङ, विप्रेषण कारोबार तथा डिजिटल कारोबारका लागि छुट्टा छुट्टै अधिकारी तोकेर कुनै समय भए जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।

महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण घरभित्रै बसी सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था आएको भन्दै यस्तो परिस्थितिमा वित्तीय सेवा प्रभावकारी बनाउन सर्वसाधारणको जिज्ञासा सम्बोधन गर्न र सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको बैंकले जनाएको छ ।

राष्ट्रबैंकका अनुसार बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैंकिङ कारोबार सम्बन्धी सबै विषयहरुमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, मोवाइल तथा इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबार सम्बन्धमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सकिने केन्द्रीयले बैंकले जनाएको छ ।

विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र र विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण जानकारीका लागि विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here