कियाले थप्यो वारेन्टी सुविधा लिने अवधि

काठमाडौं । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ।

यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो।

लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् । सोरुम खुला रहेको ठाउँमा पनि ग्राहक सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् ।

तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो। यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ।