घर जान हिँडेर अलपत्र परेकालाई खान बस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

फाइलफोटो

काठमाडौं, ५ बैशाख । घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेका नागरिकलाई प्रदेश सरकारले खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन पनि अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् ।

सरकारले मजुर र गरिखाने वर्गका नागरिकलाई घर पुराउने व्यवस्था नगरेको र यदी बसेकै स्थानमा रहन अनुरोध गर्ने हो भने खानपानको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जालहरुमा काठमाडौं लगायतका शहरी क्षेत्र छोडेर मजुरहरु सामानसहित निकै कष्टसाथ लामो यात्रा गरिरहेको तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन् ।

अहिले प्रदेश ५ मा मुख्यगरी काठमाडौंलगायत पूर्वतिरबाट पैदल आउनेहरुको संख्या धेरै भएकाले बर्दघाटमा पहिलो व्यवस्था विन्दू स्थापना गरिएको हो ।

विभिन्न ठाउँबाट हिडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउन पनि प्रदेश सरकारले नै समन्वय गर्नेछ ।

सरकारले लकडाउन गरेपछि मजदुर र दैनिक ज्याला गरेर खानेहरुलाई खानपानको व्यवस्था नमिलएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here