काठमाडौंमा धेरै महँगी: तरकारी, फलफूल, मासुको मूल्य वृद्धि उच्च

काठमाडौं, ८ बैशाख । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा काठमाडौंको महँगी ७.६१ प्रतिशतले बढेको हो ।

उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा मुद्रास्फीति ६.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वद्धि उच्च रहेको छ ।

क्षेत्रगत हिसाबमा सबैभन्दा बढी मुद्रा स्फिति काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ४.६१ प्रतिशत, ३.६१ प्रतिशत, ४.६४ प्रतिशत र ५.४७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत रहेकोमा भारतमा यस्तो (मार्च महिनाको) मुद्रास्फीति ५.९१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.२० प्रतिशत र २.८६ प्रतिशत रहेको थियो ।

२०७६ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.८१ प्रतिशत, ७.७० प्रतिशत र २.७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.८१ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here