टेमासेक फाउन्डेशनले सरकारलाई दियो १० हजार फर्टिट्यूड किट

काठमाडौं, १२ बैशाख । सिंगापूर लगानीकर्ता कम्पनीअन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट २.० प्रदान गरेको छ।

उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड-१९ का बिरामीहरुको परीक्षणका लागि उपयोग गरिनेछ।

फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सीद्वारा एसएआरएस कोभिड-२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो।

यो एसएआरएस कोभिड-२ भाइरस पत्ता लगाउनका लागि ‘अल इन वान’ १ चरण आरटी-पिसिआर किट हो। यो किटमा आरटी-पिसिआर चरणको रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइम मिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेटसहित आउँदछ।

टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले यो कठिन समयमा यी किटहरु नेपालमा साहसपूर्वक कोभिड-१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुने बताएका छन्।

निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्ने समेत उनको भनाइ छ।

टेमासेक फाउन्डेशनले नेपाल सरकारको सिसिएमसी, स्वास्थ्य मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि आभार व्यक्त गरेको छ। उक्त किट श्री एयरलाइन्सको जाहज चार्टर गरेर ल्याइएको थियो।

टेमासेक फाउन्डेशनले सन् २०१४ मा प्रकोप न्यूनीकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुदृढ पार्न मद्दत गरेको थियो। यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here