गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, १३ बैशाख । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

योसँगै गुराँसमा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सक्नेछन् । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन प्वाइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्नै पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ।

देशभर ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा प्वाइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड भन्दा बढीले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

२०६४ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्स्ले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here