नेपाल एयरलाइन्स कोरिया उड्ने, भिसा सकिन लागेकालाई प्रथामिकता

काठमाडौं, १६ बैशाख । मन्त्रिपरिषद बैठकले ईपीएसमार्फत दक्षिण कोरिया कामदार लैजान दिने निर्णय गरेसगै बिदामा नेपाल आएका कामदार कोरिया जान पाउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले दुई देशको सहमतिमा कामदारलाई जान अनुमति दिने निर्णय गरेको थियो ।

चार वर्ष अवधिका लागि कोरिया रोजगारीमा गएका १ सय ४९ नेपाली श्रमिक हाल बिदामा नेपालमै छन् ।

यसरी बिदामा आएर नेपालमा रहेका श्रमिक, विद्यार्थी तथा र कोरियाको भिसा लागेर पनि जान नपाएकालाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन लागेको हो ।

यसका लागि एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलाइन्सबीच सोमबार एक सम्झौता भएको स्रोतले जनाएको छ ।

जस अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथामिकता दिइ उडाइनेछ ।

यसरी फर्किने श्रमिकले टिकटबापत १ लाख १३ हजार ७७५ रुपैयाँ अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।

सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ ।

कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ ।

कोरोनाको संक्रमण नेपालमा फैलिनुअघि बिदामा नेपाल आएका श्रमिकले आफूहरुको बिदा अवधि सकिन लागेको भन्दै सरकारलाई कोरिया जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here