एचआईभी संक्रमित बालबालिकाहरुलाई राहत वितरण

काठमाडौं, १७ बैशाख । भक्तपुरका १२ वर्ष मुनिका १२ जना एचआईभी संक्रमित बालबालिकाहरुलाई दुईमहिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण वितरण गरिएको छ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले राहत उपलब्ध गराएको हो । महासंघले प्रत्येक बालबालिकालाई प्रतिमहिना आठ किलो चामल, एक किलो दाल, एक किलो गेडागुडी, १० वटा अन्डा, एक किलो गहुँको पीठो, एक किलो चिनी, एक किलो नून, दुई लिटर दूध, फलफूल एक किलो र खाने तेल एक लिटर उपलब्ध गराएको हो ।

जीवनदायिनी एन्टिरेट्रोभाइरल औषधि खाइरहेका यहाँका ती बालबालिकालाई राहत वितरण गरिएको महासंघका सदस्य संस्था सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्र भक्तपुरले जनाएको छ ।

सुरुवातका अध्यक्ष उमेश खड्काले लकडाउनको कारण एचआईभी संक्रमित बालबालिकाको घरसम्मै पुगेर राहत वितरण गरिएको जानकारी गराए ।

पहिलो चरणको पहिलो एक महिनाको लागि राहत वितरण गरिएको उनले बताए । अर्को महिना बाँकी अर्को महिनाको लागि राहत उपलब्ध गराइने उनले जनाए ।

सुरुवात आफैले प्रत्येक संक्रमित बालबालिकाको लागि राहतको प्याकेज तयार गरेको जनाइएको छ । महासंघले उपलब्ध गराएको राहतबाट आफूहरुको ठूलो राहत भएको संक्रमित बालबालिकाले बताएका छन् । लकडाउनले गर्दा आफ्ना अभिभावकले कमाइ गर्न नपाएको अवस्थामा उपलब्ध राहतले सिंगो परिवारकै लागि ठूलो राहत भएको सुनाए ।

एचआईभी संक्रमितले एआरभी औषधि मात्रै सेवन गरेर हुँदैन । औषधिअनुसार उपयुक्त पोषणयुक्त खानेकुरा पनि खानुपर्छ । पोषणयुक्त खानेकुराको अभावमा संक्रमितमा एचआईभी भाइरसको प्रभाव बढेर उनीहरुको स्वास्थ्य प्रभावित हुन्छ ।

त्यसमाथि कोरोना भाइरस संक्रमणका दृष्टिले एचआईभी संक्रमित बालबालिका बढी जोखिममा रहेकाले उनीहरुको लागि राहतको व्यवस्था गरिएको महासंघका अध्यक्ष राजेश दिदियाले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here