यिनकै श्रममा टेकेर म मालिक भएको छु भन्ने सोच्नुस् : उद्योगमन्त्री

काठमाडौं, ६ बैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले श्रमिकलाई पनि उद्योग र विकासमा साझेदार बनाउन उद्योगीव्यवसायीलाई आग्रह गरेका छन् ।

‘यिनकै श्रममा टेकेर म मालिक भएको छु भन्ने सोच्नुस् । मजदुरलाई नोकर हैन सहयोगी ठान्नुस् । उनीहरुलाई साझेदार बनाउनुस् किनकि साझेदारवीच झगडा हुँदैन, छलफल र बहस हुन्छ,’ शुक्रवार बिहान नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने ।

यस्तो संस्कृतिले एक अर्कालाई रुपान्तरण हुन सघाउने पनि उनले बताए ।

पश्मिनाको कच्चा पदार्थ उत्पादन नेपालमै गर्ने योजनामा सघाउन सरकार तयार रहेको मन्त्री यादवले बताए ।
उनका अनुसार अहिले नेपालको अवस्था उत्पादन वृद्धि गर्ने हो र उत्पादन बढेपछि मात्रै निर्यात बढाउन सकिन्छ ।

निजीक्षेत्रको काम माग राख्ने र गुनासो गर्ने

मन्त्री यादवले निजीक्षेत्रको मुख्य काम नै माग राख्ने र गुनासो गर्ने भएको बताएका छन् ।

‘सरकार निजीक्षेत्रसँग दीर्घकालीन साझेदारी बनाउन चाहन्छ, तर निजीक्षेत्र भने प्रायजसो माग राख्ने र त्यो ठ्याक्कै पूरा नभए गुनासो गर्दै हिंड्ने गरेको छ,’ उनले भने ।

सरकारले निजीक्षेत्रका उद्योग व्यवसायसँग दीगो सम्बन्ध बनाउन चाहे पनि हालसम्म आक्कलझुक्कल सहकार्य मात्र हुन सकेको उनको भनाइ थियो । सरकारलाई विकासमा एउटा भरपर्दो साझेदार चाहिएको र त्यो निजीक्षेत्र नै भएको उनले बताए ।

‘हुन त निरन्तर माग राख्दा पनि पूरा नभए त्यसले निराशा र आक्रोश जन्माउँछ । तर, यो सरकार अव त्यसो हुन दिंदैन,’ उनले भने ।

व्यवसायी र सरकारी कर्मचारी दुवैलाई आफ्नो सोचमा परिवर्तत ल्याउन उनले आग्रह गरे ।
राजनीतिक व्यवस्था र संविधानमा परिवर्तन भए पनि सोचमा परिवर्तन आएसम्म समाजमा परिवर्तन नदेखिने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here