काठमाडौं, २३ बैशाख । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनको ४० औ दिनमा तयारी औषधिको आयत ५१ प्रतिशतले वृद्धि भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकाअनुसार तयारी औषधिमा ५१ प्रतिशतले र औषधिको कच्चा पदार्थको आयात ११८ प्रतिशतले वृद्धि भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि, ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ, र अन्य स्वास्थ्य सामाग्री सहित करिब पौने तीन अर्बको आयात भएको छ ।
यस अवधिका खाद्यान्न लगायत औषधिजन्य वस्तुको आपूर्ति रोकिएको छैन् । सरकारले लकडाउन गरेयता बैशाख १३ गतेसम्म एक अर्ब १३ करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको तयारी औषधि आयात भएको थियो ।
नेपालमा वार्षिक ३० अर्बभन्दा धेरैको औषधि आयात हुने गरेपनि कोरोना संक्रमण कारण यो वर्ष भने औषधिेको आयत बढ्ने देखिएको छ । तथ्यांक अनुसार सन् २०१९ मा ३० अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको औषधि आयात भएको थियो ।
नेपालमा औषधि आयातको मात्रा वार्षिक बढ्दो क्रममा छ । नेपालमा सन् २०१७ मा २४ अर्ब १८ करोडभन्दा धेरैको औषधि आयात भएको थियो ।
त्यस्तै, सन् २०१८ मा २७ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो । औषधि आयातको मात्रा बढ्दो क्रममा छ ।
आयात हुने औषधिहरुमा करिब १५ हजार भन्दा बढी ब्राण्डका सिटामोल देखि लाइफ सेभिङ ड्रगसम्म छन् । नेपालमा भारतका साथै स्वीजरल्याण्ड, बेलायत, बेल्जियम जस्ता देशबाट पनि अर्बो रकमको औषधि आयात हुने गरेको छ ।
यी चार देश बाहेक चीन, बङ्गलादेश, नेदरल्याण्ड, अमेरिका, जर्मनीबाट पनि वार्षिक करोडौं रकमको औषधि आयात हुने गरेको छ ।
केन्द्रको तथ्यांक अनुसार सन् २०१९ मा स्वीजरल्यान्डबाट १ अर्ब ६९ करोड, बेलायतबाट १ अर्ब ११ करोड, बेल्जियमबाट १ अर्ब १० करोड, चीनबाट ३८ करोडको, बंगलादेशबाट ३४ करोड, नेदरल्याण्डबाट ३० करोड, अमेरिकाबाट २६ करोड, जर्मनीबाट २३ करोड र अन्य विभिन्न देशबाट १ अर्ब २८ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ ।