काठमाडौं, २९ बैशाख । सरकारले लकडाउन केही खुकुलो पारेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो बनाएको छ ।
आइतबारबाट वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम लागू भएको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपत्यका भित्रका सबै प्रमुख जिल्ला अधिकारी, उपत्यका सुरक्षा प्रमुख, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधिसहितका सरोकारवालाहरूको बैठकले सेवा तथा क्षेत्रका आधारमा सवारी पास जारी गर्ने निर्णय गरेको छ ।
तर खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । साथै एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।
त्यस्तै यस अघि जारि भएको पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने छ । साथै सरकारी कार्यालय, बैंक , वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचय मार्फत आवतजावत गर्न सक्ने छन् ।























