‘कोरोना भाइरस कहिल्यै नहट्न पनि सक्छ, नियन्त्रण हाम्रो हातमा छ’

काठमाडौं, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिले पनि पूर्णतया नहट्न सक्ने चेतावनी दिएको छ।

बुधवारको ब्रिफिङमा डब्लुएचओ, आपत्कालिन निर्देशक डाक्टर माइक र्‍यानले विश्वभर महामारीका रुपमा फैलिएको यस भाइरस हट्ने अनुमान गर्न नसकिने बताएका हुन्।

‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

उनले एचआइभीजस्तै गरी रहन सक्ने बताएका हुन्। भने,’प्रयास चाहिं सबैले गर्नु पर्‍यो। यस महामारीको नियन्त्रण हाम्रो हातमा छ।’

उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ ।

विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने सम्भावना रहेको डब्लुएचओको भनाइ छ ।

विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ ।

महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।

उसले भाइरस नियन्त्रणको प्रयार जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here