नेपाल बैंकले घटायो ब्याजदर, चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत छुट

काठमाडौं, ८ जेठ । नेपाल बैंक लिमिटेडले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरुको प्रिमियममा २ प्रतिशत छुट दिने भएको छ।

वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाइएको बैंकले जानकारी गराएको हो।

कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासिकभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन्।

२०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाबमिलान बैंकद्वारा गरिनेछ। यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदरबराबरकै अर्थात् ७ दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन्।

बन्दाबन्दीको यस विषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेडद्वारा सम्भव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङलगायतका कारोबारहरु बिहान ११:०० बजेदेखि अपराह्न २:०० बजेसम्म सञ्चालन गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here