‘शिक्षा र स्वास्थ्य परोपकारको क्षेत्र हो, व्यापार गर्ने ठाँउ होईन्’

काठमाडौं, १८ जेठ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्यमा ब्यापार गर्न नपाइने बताएका छन् ।

प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले शिक्षा र स्वास्थ्यमा कसैले लगानी गर्छ भने परोपकारका लागि गर्न सकिने सुझाव दिए ।

उनले निजी शिक्षालयलाई सामुदायिक शिक्षालय सुधार्न भन्दै ल्याइएको प्रस्तावको आलोचना गरे । उनले शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न दिन नहुने भन्दै यसमा सबै दायित्व राज्यले लिनुपर्ने पनि धारणा राखे ।

उनले लगानीकर्तालाई भने ‘मुनाफाका निम्ति शिक्षा र स्वास्थ्यमा नगर्नुस्, बरु कृषि, ऊर्जामा गर्नुहोस् । शिक्षा र स्वास्थ्य सेवा र परोपकारको क्षेत्र हो ।’

सार्वजनिक शिक्षालयहरूलाई निजी क्षेत्रले अनुगमन गर्ने भन्ने कुरा कहाँबाट आयो ? भन्दै उनले प्रश्न गरे । ‘यो अति नै लाजमर्दो कुरा हो,’ भट्टराईले भने, ‘शिक्षा र स्वास्थ्य राज्यनियन्त्रित हुनैपर्छ, यसमा सरकार क्लियर हुनुपर्छ ।’

नेताले राजनीतिमात्र गर्नुपर्ने उनले बताए । ‘नेताले व्यापार गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘डाक्टरले पनि कि सार्वनजिक कि त निजीमा काम गर्नुपर्ने, शिक्षकले पनि त्यस्तै गर्नुपर्ने, अरु सबैले आफ्नो पेसाप्रति इमानदार नभई देश बन्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here