उत्साहपूर्वक शुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द !

काठमडौं, २३ जेठ । बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी ४८ दिनमै स्थगित भएको छ ।

बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि छलफल गरेर कोरोना बीमा रोक्ने निर्णय गरेको हो ।

३ लाख भन्दा बढीको कोरोना बीमा भईसकेको र कम्पनीहरुले छुट्याएको पुँजी अनुसारको दायित्व पुरा भएकोले केहि समयको लागि कोरोना बीमा गर्ने कार्य स्थगित गर्न लागिएको स्रोतले बताएको छ । स्रोतको अनुसार मोडालिटी परिवर्तन गरेर केहि समयपछि फेरी बीमा सुरु गरिने छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना बीमालाई प्राथमिकता दिएको थियो । बजेट मार्फत सामूहिक बीमा गर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदान र सम्पूर्ण सरकारी कर्मचारीहरुलाई सरकारले निशुल्क कोरोना बीमा गर्ने घोषण भएको थियो ।

कोरोना बीमा एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कको दुई बीमालेख छन् । एक लाख बीमाङ्कका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ ।

यस्तै, ५० हजार रुपैयाँ कुल बीमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिने व्यवस्था थियो ।

यसबीचमा विदेशबाट आउनेहरुमा कोरोना संक्रमण बढेपछि समितिले बिदेशबाट आउनेहरुका लागि १५ दिन क्वारेन्टाइन र १५ दिन घरमा बसिसकेपछि मात्रै कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।

बीमा समितिले पर्याप्त अनुसन्धान तथा जोखिम विश्लेषण नगरी अघि बढाएका कारण कोरोना बीमा बन्द भएको विज्ञहरुको भनाई छ । मंगलबारसम्म २ लाख ९६ हजार ६ सय १६ जनाले कोरोना बिमा गरेका छन् । उक्त बिमामा १६ करोड २२ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

सो अवधिमा २५ हजार ४ सय ५० वटा बिमालेख विक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बीमालेख विक्री गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here