काममा नफर्कने प्राविधिकलाई कारवाही गर्ने प्राधिकरणकाे चेतावनी

काठमाडौं, १२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निमार्णमा खटिएका इन्जीनियर लगायत प्राविधिकहरुले आफ्नो माग पुरा भइसकेको अवस्थामा पनि बखेडा झिकेको आरोप लगाएको छ ।

साथै मागहरु सम्बोधन भइसकेको अवस्थामा प्राधिकरणले तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन पनि दिएको छ ।

प्राधिकरणले शुक्रबार एक विज्ञप्ती जारी गर्दै २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न आमसञ्चार माध्यममा आएको जानकारीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएको तर, एकाएक दिँउसो सामूहिक राजीनामा दिइएको प्राधिकरणले बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको छ ।’

प्राविधिकहरुले पुनर्निर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनशाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न बाध्य हुने पनि प्राधिकरणले चेतावनी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here