काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले बुधवारदेखि सार्वजनिक स्थलमा हिँड्दा गलामा एउटा नीलो कार्ड झुन्ड्याएसँगै नेपालमा त्यसको चर्चा चुलिएको छ ।
बुधवार नेकपा सचिवालय बैठकमा बसेका नेताहरूले लगाएको यो कार्डको तस्वीरले धेरैको मनमा जिज्ञासा लागेको थियो । तर त्यो कार्ड के हो त्यसले के फाइदा गर्छ भन्ने बारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले यसरी प्रष्ट पारेका छन् ।
जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो ।
यसलाई जापान, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ ।
जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो ।
यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ ।
हंगकंगका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन ।
।
यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन र नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ ।
क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ र यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन ।
यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ । यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महसुस हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ ।
जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ । कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन ।
।
चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो विज्ञापन गर्न सफल भएको छ । संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन ।
यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ । तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगरौं ।