बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै, यी कुरामा ख्याल गरौँ

काठमाडौं, २२ असार । देशभरका ५ वर्षसम्मका बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ।

भिडभाड धेरै नहोस् भनेर स्वास्थ्य सेवा विभागले देशभरका ५२ हजारवटै केन्द्रमा १ घण्टामा १० जना बालबालिकालाई मात्रै भिटामिन खुवाउन अनुरोध गरेको छ ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिन्छ।

यही कार्यक्रमअन्तर्गत १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो।

यो कार्यक्रमका लागि देशैभरि ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएका छन्।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घरनजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई अनुरोध गरेको छ।

कोरोना भाइरसको जोखिम भएकोले कसैमा संक्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न आग्रह गरिएको छ ।

भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग अनिर्वाय गरिएको छ ।

कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि आग्रह गरिएको छ ।

नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन आग्रह गरिएको छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

यो वर्ष विश्व महामारी कोरोनाभाइरसका कारण दोस्रो चरणको कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। सोही स्थगित कार्यक्रम आज (असार २२ गते) र भोलि (असार २३ गते) तय गरिएको हो।