कन्ट्रयाक्टरलाई फोनबाट धम्की, प्रहरीले नसुनेपछि मिडियाको शरणमा

काठमाडौं, १७ बैशाख । निर्माण व्यवसायीहरुलाई धम्कीपूर्ण फोन आउने क्रम फेरी शुरु भएको छ ।

दुई महिनाभन्दा अघिदेखि अज्ञात मोबाईल नम्बरबाट फोन गरी पैसा माग्ने र ज्यानकै समेत धम्की दिन थालिएको उनीहरुले बताएका छन् ।

आफ्नो र पेशाको सुरक्षाका लागि प्रहरी देखि गृह मन्त्रालय र गृहमन्त्रीसम्मलाई भेटेर हारगुहार गरे पनि आफ्नो पीडा सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

‘नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी र अन्य निर्माण व्यवसायी सदस्य गरी २५ जनाभन्दा बढीलाई विगत केही महिना अघिदेखि मोबाइलमा अज्ञात नम्बरबाट धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको छ,’ महासंघका महासचिव रोशन दाहालले मंगलबार संस्थाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार महासंघले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रहरी महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा लगायतका निकायमा लिखित जानकारी गराउँदा पनि हालसम्म कुनै प्रगति देखिएको छैन भने व्यवसायीलाई धम्कीपूर्ण फोन आउने क्रम रोकिएको छैन ।

धम्कीकै कारण कतिपय व्यवसायीहरु परियोजना साइटमा समेत जान नसक्ने स्थिति आएकाले आफूहरु बाध्य भएर मिडियाको शरणमा आएको दाहालले बताए । उनले देशभरकै व्यवसायीले भोगिरहेको यो समस्या समाधानका लागि पहल गरिदिन समेत मिडियालाई आग्रह गरेका छन् ।

गत वर्ष असोजमा महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई दिनदहाडै बानेश्वरमा गोली हानी हत्या गरिएपछि त्रसित बनेका व्यवसायीहरु धम्कीपूर्ण फोन आइरहँदा र सुरक्षा निकायले त्यसमा कुनै प्रभावकारी पहल नगरिदिंदा झनै हतोत्साहित बनेका छन् ।

प्रहरीले कुनै राजनीतिक दबावमा परेर अपराधीको खोजमा अपेक्षित तदारुकता नदेखाएको हुनसक्ने आशंका केही व्यवसायीको छ । ‘नभए नेपाल प्रहरी यत्ति सारो कमजोर त कहिल्यै थिएन,’ उनले भने ।

निर्माण व्यवसायीहरुसँगै अन्य क्षेत्रका व्यवसायीलाई पनि यस्तै धम्कीपूर्ण फोन आएको हुन सक्ने आशंका उनीहरुको छ । तर, डरकै कारण उनीहरुले मुख खोलेका भने छैनन् ।

निर्माण व्यवसायीहरुको यो पत्रकार सम्मेलनपछि अन्य व्यवसायीहरु पनि खुलेर आउन सक्ने महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए ।

केही वर्ष अघि पनि निर्माण व्यवसायीहरुलाई यस्तै धम्कीपूर्ण फोनले आतंकित बनाएको थियो ।

सरकारले निर्माण व्यवसायमा सदाचारलाई प्रोत्साहन नगर्दा पनि अपराधीहरुले बेलाबेलामा दुःख दिइरहने अवस्था आएको महासंघका सदस्य कुमार आचार्यको भनाइ छ ।

कस्-कसलाई आयाे धम्की ?

अपराधीहरुले महासंघका अध्यक्ष रवि सिंह, मानार्थ सदस्य जिप छिरिङ लामा, सल्लाहकार तथा पूर्व अध्यक्ष रमेश शर्मा र जयराम लामिछाने, सल्लाहकार शादाप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, र सदस्य उज्वल गौतम, लालकाजी गुभाजु आदिलाई धम्कीपूर्ण फोन गरेका छन् ।

त्यसैगरी, पूर्व कार्यसमिति सदस्य गेल्जे लामा शेर्पा, हुमनाथ कोइराला, सदस्य रामगोपाल श्रेष्ठ, धर्मराज दाहाल, एलजी शेर्पा, पूर्व वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना र एशोसिएट सदस्य भरतजंग रायमाझीलाई पनि अज्ञान नम्बरबाट फोन गरी धम्क्याइएको छ । कतिपयलाई त सात पटकसम्म फोन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here