ठेकेदारको पक्षमा देखिए महासेठ, भन्छन् – लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु

काठमाडौं, १८ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।

मुलुकभर विकास निर्माणमा ढीलासुस्ती र लापरवाही गरेका कारण आलोचित भइरहेका निर्माण व्यवसायीहरुको भेलामा बोल्दै मन्त्री महासेठले उनीहरुको बचाउ गर्दै कर्मचारीलाई दण्डित गर्ने बताएका हुन् ।

निर्माण व्यवसायमा केही विकृति रहेको बताउँदै उनले व्यवसायीमाथि मात्र दोष थुपार्नु सही नभएको धारणा राखे ।

‘गल्ती गर्ने कर्मचारीलाई पनि अब कार्वाह गरिन्छ,’ नेपाल निर्माण व्यवसायी महासंघले बुधबार आयोजना गरेको सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री महासेठले भने ।

व्यवसायी मैत्री ऐन नियम ल्याउन सरकारले गृहकार्य गरिरहेको समेत उनले बताए ।
नेपाललाई समृद्ध बनाउने दायित्व स्वदेशी निर्माण व्यवसायीकै भएको बताउँदै उनले ऐन नियम संशोधन गरेर भएपनि व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायीहरुले पाउने पेश्की रकमको दुरुपयोग भइरहेको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै मन्त्री महासेठले त्यस्तो रकम व्यवसायीको अधिकार नभई सरकारले दिएको सहुलीयत भएकाले सदुपयोग गर्न आग्रह गरेका छन् ।

महासंघका मानार्थ सदस्य तथा सांसद जीप छिरिङ लामा शेर्पाले व्यवसायी मैत्री ऐन कानून ल्याउन सरकारलाई चौतर्फी दबाब आवश्यक भएको बताए ।

महासंघका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिन निर्माण व्यवसायीहरु तयार रहेपनि अहिले अवस्थामा सहज तरिकाले निर्माण कार्य अघि बढाउन धेरै चुनौती रहेको बताए ।

महासंघका सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्कीलगायतले अव्यवहारिक ऐन कानूनसँगसँगै असुरक्षा, चन्दा आतंक, निर्माण सामाग्रीको अभाव लगायतका कारण निर्माण व्यवसाय धाराशायी हुँदै गएको धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here