‘प्रम कार्यालयको चासोपछी पत्रकारलाई साइबर ब्युराे बाेलाइएकाे हाे’नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले पत्रकारलाई साइबर ब्युरोमा बोलाएको स्पष्टीकरण दिएको छ।

नेपाल प्रहरीले नयाँ पत्रिका कार्यालयमा घेराउ तथा पत्रकारलाई पक्राउ पछि छाडेको थियो । उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता रहेकाे बताएपछि प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।

प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ छ।

साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेकोमा यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको छ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा उल्लेख छ।

प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको पनि जनाएको छ।

साथै राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने समेत जनाएको छ।’