गोंगबु विभत्स हत्याकाण्डको आरोपी सार्वजनिक, फेसबुक चिनजानबाट गयो ज्यान

काठमाडौं, २७ साउन । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बोहराले सामाजिक सञ्जालमा फेक आइडी बनाएर बदनाम गराउन खोजेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

शनिवार बोहरा कल्पनाको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कल्पना डेरामा पुगेपछि दही, चिउरा र मासु खुवाएको देखिएको प्रहरीले जनाएको छ ।

दहीमा स्लिपिङ ट्याब्लेट खुवाएर सुताएको र लगत्तै सलले घाँटी बाँधेर काटेको देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।

चितवन घर भएकी कल्पना काठमाडौंमा छोरी र छोरासँगै बस्दै आएकी थिइन्।

आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा सुटकेसभित्र टाउको बिनाको मानिसको शव फेला पारेको थियो । सोही स्थानमा केही परि टाउको लगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो ।

प्रहरीले सोमबार मात्रै मृतकको सनाखत गरेको थियो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा भएको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सहजता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here