अन्नपूर्ण पोष्ट सहित तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना

काठमाडौं, २६ कात्तिक । नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई/दुई घण्टा धर्ना दिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसनमा कालो ब्यानर सहित २ घण्टा धर्ना दिएको हो ।

कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिकमा भएको धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालकसंग पटक पटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि पत्रकारका माग पुरा नगरेको भन्दै महासंघ आन्दोलन गर्न बाध्य भएको बताए । उनले माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

नेपाल प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताए । अन्नपूर्ण पोष्ट दैनिकमा भएको कार्यक्रमको नेतृत्व महासंघका सचिव उदय जिएम र लक्ष्मी पुनले गरेका थिए ।

कारोबार दैनिकमा महासंघका सचिव प्रकाश थापाको नेतृत्वमा भएको कार्यक्रमा महासंघका उपाध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारलाई पारिश्रमीक नदिने, बेतलवी बिदामा राख्ने जस्ता कार्यले पत्रकारलाई अन्याय भएको भन्दै तत्काल समस्याको समाधान गर्न सञ्चालकलाई आग्रह गरेका थिए ।

त्यस्तै राजधानी दैनिकमा महासंघका सचिव शीतलप्रसाद महतोले गरेको धर्नामा महासंघका सचिव रामप्रसाद दाहालले सम्बोधन गरेका थिए । प्रेस संगठनका बाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले श्रमजीवी पत्रकारमा पक्षमा महासंघले गर्ने आन्दोलनमा संगठनको साथ रहने बताए ।

नेपाल पत्रकार महासंघले नेतृत्व गरेको आन्दोलनमा प्रेस संगठन नेपाल, नेपाल प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, प्रेस नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, फोटो पत्रकार क्लब, पत्रकार विद्यार्थी संगठन, नेपाल लगायत १३ वटा प्रेस सम्बद्घ संघरसंगठनको ऐक्यद्धता जनाएको महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह(संयोजक जन्मदेव जैसीले जानकारी दिए ।

केन्द्रीय सदस्य समेत रहेका जैसीले मिडिया हाउसले माग सम्बोधन नगरे मिडिया मालिकहरुका घर घेराउ गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सत्याग्रह थाल्ने महासंघले घोषणा गरेअनुरुप सशक्त रुपमा आन्दोलन अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here