नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकः समस्या समाधान गर्न दुवै देश सकारात्मक

काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुईदेशबीच देखिएको समस्या समाधान हुने संकेत देखिएको छ । करिव एक वर्षको अन्तरालपछि काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा समस्या समाधानको लागि दुई देश सकारात्मक देखिएका हुन् ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

परराष्ट्र मन्त्रालयले दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको बताएको छ । वार्तापछि विदेश सचिव श्रृंगलाले दुई देशकाबीचमा रहेका समस्या समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’

भारत र नेपालका राजनीतिक नेतृत्वको चाहनाबमोजिम द्विपक्षीय सहयोग एवं साझेदारीलाई अझ घनीभूत तुल्याउन आपसी लाभका परियोजना बढाउने सहमति सचिवस्तरीय बैठकमा भएको जानकारी दिँदै उनले बैठक फलदायी र छलफल सार्थक रहेको टिप्पणी गरे ।

बैठकमा आफूहरूले विस्तृत र बहुआयमिक प्रकृतिका धेरै विषयमा विचारविमर्श गरेको तथा पारस्परिक हितका सहयोगका केही परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सहमति जनाएको सचिव श्रृङ्गलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here