काठमाडौं । अत्याधिक सेल्फी लिने मानिस मानसिक रोगी हुने एक सर्वेक्षणले देखाएको छ । हालै बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय र भारतको थिगाराज स्कुल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताले गरेको अध्ययनले बढी सेल्फी लिनेहरु मानसिक रोगको सिकार हुने देखाएको हो ।
तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् । एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेपछि उनीहरू अनुसन्धानमा जुटेका थिए । अनुसन्धानकर्ताहरूले ‘सेल्फी बिहेवियर स्केल’ पनि विकसित गरेका छन्, जसले यो विकार कसरी बन्छ भन्ने पत्ता लगाउँछ ।
अनुसन्धानकर्ताहरूले २०० जनाको फोकस ग्रुप र ४०० मानिसमा सर्वेक्षण गरेर यो स्केल विकसित गरेको बताएका छन् । भारतमा फेसबुक प्रयोगकर्ता सबैभन्दा धेरै भएकाले स्याम्पल सबै भारतीयबाट लिइएको थियो । विश्वका सम्पुर्णदेशमध्ये सेल्फी लिने चक्करमा धेरै मृत्यु हुने देशमा भारत सबैभन्दा अगाडी छ ।
सेल्फी कुन बेलामा विकार बन्छ भन्ने मानिसले थाहै नपाउने अनुसन्धानकर्ताहरू बताउँछन् । सुरुमा मुड ठिक पार्न, याद ताजा राख्न र कहिलेकाहीँ यत्तिकै पनि मानिसहरूले सेल्फी लिने तर कालान्तरमा यो नशा बन्दै जाने अध्ययनको निष्कर्ष छ ।(एजेन्सीको सहयोगमा)