एजुकेशन डेटा प्याकमा नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा, कस्को सस्तो ?

-जितेन्द्र खनाल

काठमाडौं १९ मंसिर । कोरोना महामारीको कारण स्कुल तथा कलेज सञ्चालनमा आउन सकेका छैनन् । जसको कारण लाखौं विद्यार्थीको पढाई प्रभावित बनेको छ । यस्तोमा धेरैजसो शैक्षिक संस्थाले भर्चुअल शिक्षा अर्थात अनलाइन शिक्षा सञ्चालन गरिरहेका छन् ।

भर्चुअल कक्षालाई लक्षित गरेर नेपाल टेलिकम र एनसेलले एजुकेशन डेटा प्याक उपलब्ध गराईराखेका छन् । विद्यार्थीको लागि नेपाल टेलिकमले हाल ईशिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याकेज सञ्चालनमा ल्याएको छ भने निजी क्षेत्रको एनसेलले हिसान, प्याब्सन र एन प्याब्सनसँग मिलेर डेटा प्याक सञ्चालनमा ल्याएको छ । यस्ता प्याक कसरी लिने ? र यी दुई कम्पनीमध्ये कस्को डेटा प्याक सस्तो छ त । यस्तो छ जानकारीः

यस्तो छ नेपाल टेलिकमको एजुकेशन डेटा प्याक

मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अनलाइन कक्षाको लागि तिनवटा प्याक सञ्चालनमा ल्याएको छ । जसमा ईशिक्षा प्याकेज, ह्याप्पी लर्निङ प्याकेज र पाठशाला सियूजी सिम रहेका छन् ।

यी तिनवटा प्याकमध्ये ईशिक्षा प्याकेज र पाठशाला सियूजी सिम प्याकेजको लागि शैक्षिक संस्थाको सहमति आवश्यक पर्छ भने ह्याप्पी लर्निङ प्याकेज विद्यार्थी आफैले लिन सक्ने कुरा नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् ।

‘अनलाइन कक्षा पढिरहेका विद्यार्थीलाई सहयोग गर्नको लागि नेपाल टेलिकमले ईशिक्षा प्याकेज, ह्याप्पी लर्निङ प्याकेज र पाठशाला सियूजी सिम प्याकेज गरेर तिनवटा टेडा प्याकहरु ल्याएको छ ।’ उनले भने, ‘जसमध्ये ह्याप्पी लर्निङ प्याकेज विद्यार्थी आफैले लिने हो भने ईशिक्षा प्याकेज र पाठशाला सियूजी सिम प्याकेज लिन शैक्षिक संस्थाको स्विकृति आवश्यक पर्छ ।’

टेलिकमले प्रदान गर्दै आएको ईशिक्षा प्याकेज २० हजारभन्दा धेरै मानिसहरुले प्रयोग गरेको प्रवक्ता जोशीले बताए ।

‘हामीले प्रदान गर्दै आएको प्याकेजबाट विद्यार्थीहरु निकै उत्साहित हुनुहुन्छ ।’ उनले भने, ‘ईशिक्षासंग २० हजारभन्दा धेरै ग्राहक जोडिनु भएको छ भने पाठशाला सियूजी सिम प्याकेजमा २ हजारभन्दा धेरै ग्राहक हुनुहुन्छ ।’

ईशिक्षा प्याकेजमा टेलिकमले २६० रुपैयाँमा ६ जीबी डेटा प्रदान गर्नेछ । जसमा ३ जीबी डेटा बिहान ५ बजेदेखि १० बजेसम्म प्रयोग गर्न सकिने छ । बाँकी ३ जीबी डेटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । यो डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ ।

नेपाल टेलिकमले ईशिक्षा प्याकेज अन्तरगत ५०० रुपैयाँमा १५ जीबी डेटा प्रदान गर्नेछ । जुन २८ दिनको लागि मान्य हुनेछ । कूल १५ जीबी डेटा मध्ये ६ जीबी डेटा बिहान ५ बजेदेखि १० बजेसम्म प्रयोग गर्न सकिने भने बाँकी ९ जीबी डेटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

ईशिक्षा प्याकेज लिनको लागि विश्वविद्यालय तथा विद्यालयले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरु सूचीसहित edupack@ntc.net.np ईमेलमा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई *1441# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ ।

यसैगरी टेलिकमले अनलाइन कक्षाको लागि सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक पनि उपलब्ध गराएको छ । सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्न सकिने छ । बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

उक्त प्याक अन्तरगत ३५ जीबी डेटामध्ये ३० जीबी डेटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्न सकिने छ । भने बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

यस्तो छ एनसेलको एजुकेशन डेटा प्याक

नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सस्तो मूल्यमा अनलाइन कक्षाको लागि डेटा उपलब्ध गराउन हिसान, प्याब्सन र एन प्याब्सनसँग सम्झौता गरेको छ । जसमा एनसेलले भ्वाइस, डाटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा उपलब्ध गराएको छ ।

हिसानसँग भएको सम्झौता अन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रिजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने छन् ।

यसैगरी मासिक ३५० (करबाहेक) रुपैयाँको योजना पनि उपलब्ध रहेको छ । यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

त्यस्तै प्याब्सन र एनप्याब्सनसँग भएको सम्झौता भएको अनुसार एनसेलले विद्यार्थीलाई मासिक २५० (करबाहेक) रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रिजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्रदान गर्ने छ । एनसेलको यो सेवा लिनको लागि *17123# डायल गरेर आएको अप्सन ‘स्टुडेन्ट प्लान’ मा ९ थिच्नुपर्छ ।

यो सहकार्य अनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाले यो योजनाबाट फाइदा लिन सक्नेछन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here