काठमाडौं, १९ मंसिर । कोरोना माहामारीको बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले नि:शुल्क गरिएको इन्टर बैंक एटीएम सेवामा अब भने पैसा लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्थासँग अब एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नुपर्ने छ ।
यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।
मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ।
एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए ।
यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए । एटीएम सेवा निशुल्क गरेपछि केहि बैंकहरुले मर्मत सम्भारको बहानाबाजी गरेर एटीएम सेवा नै बन्द गरेको पाईएकाले शशुल्क गर्नुपर्ने बाध्यता आईलागेको स्रोतको भनाई छ।























