कसरी लिने निःशुल्क ‘पाठशाला सियुजी सिम’, ९९ रुपैयाँमा महिनाभर कुराकानी ५ जिबि डाटा

काठमाडौं, २१ मंसिर । नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पुर्‍याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गरेको छ ।

कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराएको हो ।

सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।

यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सियुजी सिमकार्ड लिन सक्नेछन् ।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेकाे भएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सियुजीमा आबद्ध गर्न पनि सकिने र सिमकार्ड नहुनेहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने कम्पनीले जनाएकाे छ ।

निशुल्क सिम कसरी लिने ?

विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ ।

यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपीका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ ।

विद्यालयले पाठशाला सियुजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सियुजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको कोल्सड युसर ग्रुप (सियुजी) मा आबद्ध गरी मासिक जम्मा ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुन्छ ।

पाठशाला सियुजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ ।

नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सियुजी सिम लिन सक्नेछन् । यस सेवाबाट फाइदा लिनुहुन सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई अनुरोध गरेको छ ।

विद्यार्थी र शिक्षकलाई टेलिकमको अफर, ९९ रुपैयाँमा महिनाभर कुराकानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here