उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

काठमाडौं, २५ मंसिर । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

मंसिर १३ गते सम्पन्न चुनावबाट निर्वाचित महासघंको नयाँ कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरी क्यान महासंघले स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलगायत सम्पूर्ण टीमलाई सफल कार्यकालको शुभकामना दिए । मुलुककै ठूलो व्यावसायिक संस्था भएको नाताले व्यवसायीको हकहीतको संवद्र्धन गर्न र व्यावसायिक वातावरण राम्रो बनाउन उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कुँवरले दुई संस्थावीचको सहकार्य अझ अभिवृद्धि गर्नु पर्ने पनि बताए । अहिले देखिएको कोरोनाभाइरस महामारीले उद्योग व्यवसायमा ज्यादै ठूलो असर परेको छ तर सूचनाप्रविधिको प्रयोगले भने उनीहरुलाई कुनै न कुनै रुपमा सहयोग गरेको छ, उनले भने ।

‘महामारीमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसाय त फस्टायो नै । अन्य व्यवासायमा पनि यसको प्रयोगको महत्व पनि प्रष्ट्यायो । त्यसैले आईसीटीको विकासका लागि अबका दिनमा सरकार र महासंघसँग सहकार्य गर्न हामी इच्छुक र तत्पर दुवै छौं’,उनले भने ।

उद्योग वाणिज्य महासंघ र क्यान महासंघवीच केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य हुनु आवश्यक रहेको कुँवरको भनाइ छ ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष गोल्छाले महामारीले व्यवसायमा सूचना प्रविधिको महत्व बढेर गएको बताए । आफ्नो टीमले राष्ट्रिय भिजनको निर्माण गरिरहेकाले क्यान महासंघसँग समेत परामर्श गरी त्यसलाई अझ उपयोगी र व्यवहारिक बनाउने पनि उनको भनाइ थियो ।
‘सम्पूर्ण क्षेत्रका व्यवसायीहरु एक भएर जाने हो भने मात्र हामीले आफ्नो र मुलुकको हितका लागि काम गर्न सक्छौं,’ उनले भने । कृषिदेखि पर्यटनसम्मका क्षेत्रले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट लाभ लिन सक्ने र त्यसका लागि बेग्लै रणनीति बनाएर अघि बढ्नु पर्ने पनि उनले बताए ।

भारतमा सञ्चालन गरिएको इहाट जस्तै प्रविधि नेपालमा पनि प्रयोग गर्ने हो भने किसानलाई विचौलियाको चंगुलबाट जोगाउन सकिन्छ, उनले भने ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, क्यानका पूर्व अध्यक्ष सुरेश कर्ण तथा क्यानका महासचिव नारायण थापाले आफ्नो विचार राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here