देउवा सहभागी नभएपछि संवैधानिक परिषदको बैठक स्थगित, भागबण्डा नमिल्दा ४५ पद रिक्त

फाइलफोटो

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको लागि बोलाएका संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो ।

बैठक बस्नु दुई दिन अघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग संवैधानिक निकायमा रिक्त पद नियुक्तिबारे छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले बैठक एक दुई दिनका लागि परसार्न आग्रह गरेको बुझिएको छ ।

नेपाली कांग्रेस सरकार विरूद्ध देशव्यापी प्रदर्शनको तयारीमा रहेकाले त्यसका लागि जिल्ला जाने भएपछि देउवाले परिषदको बैठक सार्न आग्रह गरेको स्रोतले जनाएको छ ।

बैठकको अब कहिले बस्छ भन्नेबारे भने केही खुलाइएको छैन । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषद्का ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । हाल उपसभामुख पद रिक्त छ । त्यसैले कुनै एक सदस्य उपस्थित हुन नसकेपनि बैठक बस्न सक्दैन ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् हुने संवैधानिक व्यवस्था छ।

हाल विभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् । लोकसेवा आयोग, वित्त आयोग लगायत संवैधानिक निकायमा पनि लामो समयदेखि पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नै छैनन् । प्रमुख आयुक्तसहित ५ जना पदाधिकारी रहने अख्तियारमा अहिले २ जना आयुक्त छन् । यी दुई आयुक्तको पदावधि आगामी चैत १७ गते सकिँदैछ ।

राष्ट्रिय मानवअधिकार आयोग यही २०७७ कात्तिक ३ देखि पदाधिकारीविहीन बनेको छ । निर्वाचन आयोगमा दुई स्थान रिक्त छ । राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन भएन ५६ महिना पूरा भएको छ । राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगमा पदाधिकारीको नियुक्ति नै भएको छैन ।

पाँच—पाँच जनासम्म पदाधिकारी रहने मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार—चार स्थान रिक्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here