ललिता निवास प्रकरण: अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

काठमाडौं, २८ मंसिर । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिइएको थियो । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

अब यस आदेशमा चित्त नबुझेमा बस्न्यातले सर्वोच्च अदालतमा जान पाउने अधिकार भने रहेको छ । अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय दिन्छ ।

बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लागेको छ । सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको, नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको अभियोग उनीमाथि रहेको छ ।

मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here