ग्लोबल आईएमईको लाभांश घोषणा, २७.४७ प्रतिशत बोनस सेयर

काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई लघुवित्तले आफ्ना लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको छ ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको १२१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन संस्थाले हालसम्म वितरण गरेको लाभांशभन्दा बढी हो ।

संस्थाले गत आवको नाफाबाट २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी २८.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ रहेको छ । कम्पनीको संचालक समितिले यो चुक्तापूँजीको २७.४७ प्रतिशतले हुने ७ करोड १३ लाख ९ हजार १०८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.४५ प्रतिशतले हुने ३७ लाख ५३ हजार १११ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३३ करोड माथि पुग्नेछ ।

संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश (१७.५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद) वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५को १५.७८७५ प्रतिशत, २०७३/७४ को २१.०५ प्रतिशत, २०७२/७३ को २० प्रतिशत र २०७१/७२को १३.६८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here