खुल्यो पशुपतिनाथ मन्दिर, बिहानैदेखि भक्तजनको चहलपहल

फाइलफोटो

काठमाडौं, १ पुस । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर बुधबारदेखि भक्तजनहरुका लागि खुला गरिएको छ ।

मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन्। त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको थियो ।

मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ । चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here