अध्यादेशले तरंगित राजनीति, स्थायी कमिटी बैठकमा फिर्ता लिन बाध्य पार्ने तयारी

फाइलफोटो

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने तयारी गरिएको छ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो ।

यसैबीच स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुनुका साथै नेकपाको विवाद झनै वढेको छ ।

आजको बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

‘स्वेच्छाचारी ढंगले ल्याइएको विवादित अध्यादेश सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ । आजको बैठकमा हामी यही विषय जोडदार रुपमा उठाउने छौं र फिर्ता गर्न पनि बैठकले निर्देशन दिनेछ’, एक स्थायी कमिटी सदस्यले भने ।

अध्यादेशबारे असन्तुष्टी राख्ने नेकपा सचिवालयका पाँच जना सदस्यको भेला मंगलबार साँझ खुमलटारमा बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिने सहमति भएको छ ।

८ महिना अगाडी राष्ट्रपतिबाट अध्यादेश ल्याएर फिर्ता गरेको अध्यादेश पुनः ल्याएपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली तिब्र आलोचनाको शिकार बनेका छन् । जनताबाट निर्वाचित संसदलाई बन्धक बनाएर प्रधानमन्त्रीले अध्यादेशमार्फत देश चलाउन खोजेको र यसमा राष्ट्रपतिबाट आँखा चिम्लिएपछि संकट अझ गहिरिएको हो ।

प्रधानमन्त्रीको यो कदमको सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताले कडा आलोचना गरेका छन् ।

उनीहरुले यसलाई प्रतिगमनको संकेत भनेका छन् । अध्यादेश फिर्ता लिई संसदबाटै कानूनहरु बनाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ । यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी ल्याएको अध्यादेश पार्टीभित्रैबाट विरोध भएपछि फिर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here