विश्व रेकर्ड नजिक मेस्सी, पेलेको रेकर्डबाट एक गोल टाढा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् ।

अर्जेन्टिनी स्टार खेलाडी मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

पहिलोपटक सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीमा देखिएका मेस्सीले अहिलेसम्म बार्सिलोनाको लागि ७४६ खेलमा ६४२ गोल गरिसकेका छन् । ३३ वर्षीय मेस्सी पेलेको कीर्तिमानबाट अब मात्रै एक गोलले टाढा छन् ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलियन क्लब सान्टोसबाट खेल्दै ६४३ गोल गरेका थिए । यो संगै उनीले एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

बार्सिलोनाले बुधबार राति ला लिगाअन्तर्गत रियल सोसिडाडसँग खेल्दैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने यस खेलमा मेस्सीले एक गोलमात्रै गरेमा एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसंग बराबरी गर्छन्, दुई गोल गरेमा यो रेकर्ड आफ्नो नाममा बनाउछन् ।

सबैभन्दा धेरै छ पटकका बालोन डी ओर विजेता मेस्सी लामो समययता बार्सिलोनाबाट खेलिरहेका छन् । बार्सिलोनाका सर्वाधिक गोलकर्तासमेत रहेका उनले बार्सिलोनालाई चार पटक च्याम्पियन्स लिग र १० वटा ला लिगाको उपाधि जिताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here