रेशम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला अदालतको फैसला सदर, लक्ष्मण थारुको फैसला उल्टियो

काठमाडौं, ३ पुस । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीसहित आठ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ। यसअघि तीन वर्ष कैद सजाय पाएर छुटिसकेका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदकै फैसला सुनाएको छ।

बिहीबार अदालतका न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलास (इजलास नम्बर २ ) ले चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो ।

जन्म कैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् । ०७५ फागुन २२ गते जिल्ला अदालतले उनीहरुमाथि सो सजाय हुने फैसला सुनाएको थियो ।

यसैगरी अर्का प्रतिवादी लक्ष्मण थारुलाई समेत जन्मकैदको फैसलाका साथै ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाइएको छ ।

कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सांसद चौधरी उच्च अदालत गएका थिए।

निर्वाचित भएको १३ महिनापछि १९ पुस २०७५ मा चौधरीले सांसद पदको शपथ लिएका थिए। जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here